एउटा कोठामा एक घरी केरा झुन्ड्याइएको थियो । साथमा एउटा भर्याङ पनि थियो । त्यस कोठामा ५ वटा बाँदरलाई बन्द गरियो । जब बाँदरहरूले झुन्डिरहेको केरा देखे,उनीहरूमा केरा खाने उत्सुकता जाग्यो । एउटा बाँदरले भर्याङको सहायता लिँदै केरा टिप्न खोज्यो तर भर्याङ चढ्ने बित्तिकै कोठामा फिट गरिएको पाइपहरूबाट एकदम चिसो पानी आयो र सबै बाँदरहरूलाई पूर्ण रूपमा भिजाइदियो । एकछिन काम्दै बसेपछि अर्को बाँदरले केरा टिप्ने प्रयास गर्यो । तर यसपालि पनि चिसो पानीले सबै बाँदरलाई भिजाइदियो । चिसोले डुगडुग कामेका बाँदर दङ्ग थिए । निकै समयपछि तेस्रो बाँदरले साहस जुटाएर भर्याङ चढ्न खोज्यो । फेरि पनि सबै बाँदर भिज्न पर्यो ।

केहीबेरपछि कोठाको ढोका खुल्यो र भित्रको एउटा बाँदरसँग नयाँ बाँदर साटियो । नयाँ बाँदर आउनासाथ भर्याङ चढेर केरा टिप्न आट्यो तर अरु बाँदरले भिज्नु पर्ने डरले त्यस नयाँ बाँदरलाई रोके र कुटे । नयाँ बाँदर दङ्ग पर्यो तर फेरि प्रयास गर्ने आँट जुटाउन सकेन । केही समयपछि फेरि ढोका खुल्यो र अर्को बाँदर नयाँ बाँदरसँग पुरानो भिजेको बाँदर साटियो । यो नयाँ बाँदर पनि भर्याङ चढ्न आँट्यो तर बाँकी बाँदरले त्यसलाई पनि भक्कुमार कुटे । कुट्ने टोलीमा अघि कुटाई खाएको नयाँ बाँदरपनि थियो ।
यसैगरि अरु बाँदरपनि क्रमशः साटिदै गरेर पहिले भएका ५ बाँदर सबै बाहिर पुगिसकेका थिए । तर भित्र भने जुन बाँदरले भर्याङ चढेर केरा टिप्ने खोज्छ,त्यसले कुटाइ खाने निश्चित थियो । अहिले भित्र भएका कुनैपनि बाँदरले चिसो पानीको पानीको भिजाइ अनुभव गरेका थिएनन् तर पनि उनीहरूले भर्याङ चढ्न प्रयास आफूपनि गर्दैनथिए र अरुलाई पनि रोक्न कुट्न सम्म भ्याउँथे ।
हाम्रो समाजमा कतिपय रीति रिवाज,परम्परा र चलचलन पनि यही मोडलमा चलिरहेको देखिन्छ । कोही जिज्ञासु बालबालिकाले प्रश्न गर्दा”पहिलेदेखि यस्तै गरिएको,ठुलाबडासँग प्रश्न गर्छस्,जे सिकाउँछु र जे भन्छु त्यही गर् र त्यही सत्य मान्”जस्ता जवाफ पाउँदा त्यस बालबालिकालाई सबै बाँदरले मिलेर कुटेको जस्तै अनुभव हुन्छ । धर्म,संस्कृति,परम्पराको विषयमा प्रश्न र जिज्ञासालाई चिसोपानीको भिजाइ जसरी जवाफ दिने हो भने आउँदा पुस्ताहरूमा यी महत्वपूर्ण सामाजिक अस्तित्वका तत्त्वहरूको क्रमिक ह्रास आउने निश्चित छ र यसको जिम्मेवार आफूले कुटाइ खाएपछि नयाँ बाँदरलाई पनि कुट्ने मनसायका मान्छेहरू हुनेछन् ।