Skip to content
My Perspective
Go back

The Paradox of Choice

Written by Keshav Rijal

धेरै विकल्प, कम सन्तुष्टि: उपभोक्तावादको विरोधाभास

(Too Many Choices, Less Satisfaction: The Paradox of Consumerism) 

हामी यस्तो समयमा बाँचिरहेका छौँ, जहाँ अभावभन्दा विकल्पको समस्या ठूलो हुँदै गएको छ। कुनै समय मानिससँग मोबाइलको एउटा विकल्प थियो, अहिले सयौँ ब्रान्ड र हजारौँ मोडल छन्। एउटा चलचित्र हेर्न टेलिभिजनका केही channel मा निर्भर हुनुपर्थ्यो; अहिले streaming platform मा हजारौँ चलचित्र छन्। एउटा पसलमा सीमित कपडा पाइन्थ्यो; आज online shopping ले घरमै बसेर हजारौँ डिजाइन, ब्रान्ड, मूल्य र गुणस्तरका विकल्प उपलब्ध गराउँछ।

पहिलो दृष्टिमा हेर्दा यो मानव स्वतन्त्रताको अद्भुत विस्तार हो। हामीसँग रोज्ने अधिकार छ, विकल्प छ र आफ्नो आवश्यकता तथा रुचिअनुसार निर्णय गर्न सक्ने क्षमता छ। तर अमेरिकी मनोवैज्ञानिक तथा लेखक Barry Schwartz ले आफ्नो चर्चित पुस्तक The Paradox of Choice: Why More Is Less मा यही धारणामाथि महत्वपूर्ण प्रश्न उठाएका छन्—के धेरै विकल्प हुनु सधैँ राम्रो हुन्छ**?**

Schwartz को मूल तर्क हो—विकल्प आवश्यक छन्, तर अत्यधिक विकल्पले मानिसलाई स्वतन्त्र बनाउनुको सट्टा कहिलेकाहीँ मानसिक रूपमा बोझिलो र असन्तुष्ट बनाउन सक्छ। 

विकल्पबाट स्वतन्त्रता कि बोझ**?**

हामी सामान्यतः यस्तो समीकरणमा विश्वास गर्छौँ: धेरै विकल्प = धेरै स्वतन्त्रता = धेरै खुशी। तर व्यवहारमा यो समीकरण सधैँ सही हुँदैन। मानौँ एउटा पसलमा एउटा वस्तुका पाँचवटा विकल्प छन्। आफ्नो आवश्यकता र बजेट हेरेर एउटा छनोट गर्न त्यति कठिन हुँदैन। तर त्यही वस्तुका पाँच सय विकल्प छन् भने अवस्था बदलिन्छ। कुन ब्रान्ड राम्रो? कुनको मूल्य उचित? कुनको गुणस्तर राम्रो? कुनमा बढी सुविधा छ? कुनको review राम्रो छ? कतै अर्को विकल्प अझ राम्रो त छैन? यसरी निर्णय लिनुभन्दा पहिले नै मानिस तुलना, विश्लेषण र शंकाको चक्रमा प्रवेश गर्छ। निर्णय गरिसकेपछि पनि समस्या सकिँदैन। मनमा प्रश्न उठ्न सक्छ—“मैले अर्को विकल्प रोजेको भए अझ राम्रो हुन्थ्यो कि?” यही नै Schwartz ले औँल्याएको “paradox of choice” हो।  

MaximizerSatisficer

Schwartz को पुस्तकमा निर्णय गर्ने मानिसका दुई महत्वपूर्ण प्रवृत्ति—Maximizer र Satisficer—बारे चर्चा गरिएको छ।

Maximizer त्यस्तो व्यक्ति हो जो कुनै निर्णय गर्दा सम्भव भएसम्म सबैभन्दा राम्रो विकल्प खोज्न चाहन्छ। उसको मानसिकता हुन्छ—“मलाई राम्रो मात्र होइन, सबैभन्दा राम्रो चाहिन्छ।” Laptop किन्नुपर्दा यस्तो व्यक्तिले दर्जनौँ मोडल हेर्न सक्छ, specification तुलना गर्न सक्छ, review पढ्न सक्छ, price compare गर्न सक्छ र अन्तिम निर्णयपछि पनि अर्को मोडल अझ राम्रो थियो कि भनेर सोचिरहन सक्छ।

अर्कोतर्फ Satisficer ले आफ्नो आवश्यकता पूरा गर्ने पर्याप्त रूपमा राम्रो विकल्प भेटिएपछि निर्णय गर्छ। उसको सोच हुन्छ—“यो मेरो आवश्यकताका लागि राम्रो छ; अब अझ खोजिरहन आवश्यक छैन।” उदाहरणका लागि, Satisficer ले आफ्नो कामका लागि आवश्यक specification भएको राम्रो laptop भेटेपछि किन्छ। Maximizer भने संसारकै सबैभन्दा राम्रो laptop कुन हो भनेर खोजिरहन सक्छ।

यहाँ महत्वपूर्ण कुरा के हो भने Satisficer हुनु भनेको कम महत्वाकांक्षी हुनु होइन। यसको अर्थ आफ्नो आवश्यकता र प्राथमिकता स्पष्ट गरेर ती पूरा गर्ने विकल्प भेटिएपछि अनावश्यक खोज बन्द गर्न सक्नु हो। Schwartz को विचारमा Maximizer ले वस्तुगत रूपमा अझ राम्रो विकल्प पाउन सक्छ, तर उसले मनोवैज्ञानिक रूपमा बढी सन्तुष्टि पाउँछ भन्ने निश्चित छैन। किनकि धेरै विकल्प हेर्ने व्यक्तिले आफूले रोजेको विकल्पलाई आफूले छोडेका सबै विकल्पसँग तुलना गरिरहन्छ। त्यसैले कहिलेकाहीँ **“**best” खोज्ने प्रयासले “better life” दिँदैन।

उपभोक्तावाद: आवश्यकता कि निरन्तर चाहना**?**

यो विषयलाई उपभोक्तावाद (consumerism) सँग जोडेर हेर्दा अझ रोचक पाइन्छ।  उपभोक्तावाद भनेको केवल वस्तु तथा सेवा प्रयोग गर्नु होइन। सामान्य उपभोग जीवनको आवश्यकता हो। खाना खानु, कपडा लगाउनु, घर बनाउनु, यातायात प्रयोग गर्नु वा कामका लागि computer किन्नु सामान्य consumption हो। तर जब वस्तु तथा सेवाको उपभोगलाई खुशी, सफलता, सामाजिक प्रतिष्ठा र व्यक्तिगत पहिचानसँग जोड्न थालिन्छ, त्यहाँ consumerism को प्रवृत्ति देखिन थाल्छ। आजको समाजमा यस्तो प्रवृति देखिन्छ—नयाँ smartphone ले जीवन अझ राम्रो बनाउँछ, महँगो car ले सफलता देखाउँछ, branded कपडाले status बढाउँछ, ठूलो घरले प्रतिष्ठा बढाउँछ। यसरी प्रश्न विस्तारै बदलिन्छ: “मलाई के आवश्यक छ?” बाट “मसँग अरूभन्दा राम्रो के छ?” तर्फ। यहीँबाट उपभोक्तावादको मनोविज्ञान सुरु हुन्छ।

विज्ञापनले आवश्यकता मात्र होइन, चाहना पनि बनाउँछ

उपभोक्तावादी समाजमा विज्ञापनको भूमिका महत्वपूर्ण हुन्छ। विज्ञापनले कुनै वस्तुको मूल्य, गुणस्तर वा उपयोगिता मात्र बताउँदैन; उसले प्रायः जीवनशैली र भावनासँग वस्तुलाई जोड्छ। “यो जुत्ता किन्नुहोस्” भन्दा “यो जुत्ता लगाउँदा तपाईं अझ आकर्षक देखिनुहुन्छ” भन्ने सन्देश प्रभावकारी हुन्छ। त्यस्तै, “नयाँ मोबाइलमा नयाँ technology छ” भन्दा “नयाँ मोबाइलसँग तपाईं अझ आधुनिक र सफल देखिनुहुन्छ**”** भन्ने सन्देशले मानिसको भावनालाई सम्बोधन गर्छ। यसरी बजारले कहिलेकाहीँ विद्यमान आवश्यकता पूरा गर्नेभन्दा नयाँ आवश्यकता र नयाँ चाहना निर्माण गर्न बढी काम गर्छ।

चाहना पूरा हुन्छ कि नयाँ चाहना जन्मिन्छ? उपभोक्तावादको अर्को रोचक पक्ष यसको चक्र हो।

         चाहना → खरिद → क्षणिक सन्तुष्टि → अभ्यस्तता → नयाँ चाहना → पुनः खरिद

नयाँ वस्तु किन्दा केही समय खुशी लाग्छ। तर समय बित्दै जाँदा त्यो वस्तु सामान्य लाग्न थाल्छ। त्यसपछि बजारमा अर्को नयाँ model आउँछ र फेरि इच्छा जाग्छ। उदाहरणका लागि, नयाँ  I phone किन्दा सुरुमा अत्यन्त खुशी लाग्न सक्छ। केही महिनापछि त्यो सामान्य लाग्न थाल्छ। त्यसपछि अझ नयाँ model बजारमा आउँछ। यहाँ प्रश्न उठ्छ—हामी वस्तु प्रयोग गरिरहेका छौँ कि वस्तुले हाम्रो चाहना निर्माण गरिरहेको छ?

Social Comparison को भूमिका

उपभोक्तावाद केवल बजारबाट मात्र चल्दैन। मानिसको स्वभाव पनि यसमा जोडिएको हुन्छ। हामी आफूलाई अरूसँग तुलना गर्छौँ। “उससँग नयाँ car छ।” “उसले महँगो phone बोकेको छ।” “उसको घर ठूलो छ।” “उसले विदेश घुमेको छ।” यसरी अरूको जीवनसँग तुलना गर्दा आफ्नै जीवनप्रतिको सन्तुष्टि घट्न सक्छ।

विशेषगरी social media ले यो समस्या अझ जटिल बनाएको छ। हामी अरू मानिसको जीवनको सम्पूर्ण वास्तविकता होइन, उनीहरूले देखाउन चाहेको राम्रो पक्ष मात्र देख्छौँ। तर त्यसलाई आफ्नो वास्तविक जीवनसँग तुलना गर्छौँ। फलतः अरूको highlight reel सँग आफ्नो behind-the-scenes तुलना गर्ने अवस्था सिर्जना हुन्छ। 

धेरै विकल्प र निर्णयको थकान (Decision Fatigue)

विकल्पको अत्यधिकताले अर्को समस्या ल्याउँछ—decision fatigue। बिहान उठेदेखि रातिसम्म मानिसले अनेकौँ निर्णय गर्नुपर्छ—के खाने, के लगाउने, कुन काम पहिले गर्ने, कुन email को जवाफ दिने, कुन सामान किन्ने, कुन video हेर्ने, कुन समाचार पढ्ने आदि। प्रत्येक निर्णयमा धेरै विकल्प थपिँदै गएपछि मानसिक ऊर्जा खर्च हुन्छ। त्यसैले कहिलेकाहीँ सीमित विकल्प हुनु पनि सुविधा हुन सक्छ। हामीले कुनै restaurant मा गएर menu मा २०० वटा परिकार देख्दा खुशी हुनुपर्ने हो। तर कहिलेकाहीँ मनमा आउने प्रश्न हुन्छ—“के खाने?” अन्ततः हामी खाना खानुभन्दा menu हेर्नमै धेरै समय खर्च गर्न सक्छौँ।

“Good enough” स्वीकार गर्ने कला

आधुनिक जीवनको एउटा महत्वपूर्ण सीप हुन सक्छ—कहिले पर्याप्त हुन्छ भनेर जान्नु। हरेक निर्णयमा सर्वोत्तम विकल्प खोजिरहनु आवश्यक छैन। जीवनका केही निर्णय अत्यन्त महत्वपूर्ण हुन्छन्; त्यहाँ गहिरो अध्ययन र विचार आवश्यक हुन्छ। तर हरेक सानो निर्णयलाई जीवनकै सबैभन्दा महत्वपूर्ण निर्णय बनाउनु आवश्यक छैन। कहिलेकाहीँ: **“**यो मेरो उद्देश्य पूरा गर्न पर्याप्त राम्रो छ।” भन्न सक्नु पनि बुद्धिमानी हो। यसको अर्थ गुणस्तरप्रति सम्झौता गर्नु होइन। यसको अर्थ अनावश्यक perfectionism बाट आफूलाई मुक्त गर्नु हो।

के उपभोक्तावाद पूर्ण रूपमा खराब हो?

यहाँ सन्तुलित दृष्टिकोण आवश्यक छ। उपभोक्तावादका कारण उत्पादन बढेको छ, रोजगारी सिर्जना भएको छ, technology विकसित भएको छ र मानिसले धेरै सुविधा पाएका छन्। बजारमा प्रतिस्पर्धा हुँदा वस्तुको गुणस्तर पनि सुधारिन सक्छ। सुध्रेको पनि छ।  समस्या उपभोगमा होइन, अनावश्यक र निरन्तर बढ्दो उपभोगमा हो। समस्या नयाँ वस्तु किन्नुमा होइन; नयाँ वस्तु नै खुशीको स्रोत हो भन्ने विश्वासमा हुन सक्छ। समस्या विकल्पमा होइन; विकल्पले हामीलाई नियन्त्रण गर्न थालेको अवस्थामा हुन सक्छ।

हाम्रो जीवनमा यसको अर्थ के हो?

Barry Schwartz को पुस्तकले हामीलाई उपभोग र निर्णयको विषयमा एउटा महत्वपूर्ण आत्मपरीक्षण गर्न प्रेरित गर्छ। नयाँ वस्तु किन्नुअघि हामी आफैँलाई सोध्न सक्छौँ: “मलाई यो वास्तवमै आवश्यक छ कि केवल नयाँ भएको कारण चाहिएको हो?” निर्णय गर्नुअघि: **“**मलाई सबैभन्दा राम्रो चाहिएको हो कि मेरो आवश्यकता पूरा गर्ने राम्रो विकल्प?” निर्णय गरिसकेपछि: “मैले रोजेको विकल्पको उपयोग गर्दैछु कि मैले नरोझेका विकल्पहरूको कल्पना गर्दै पछुताइरहेको छु?” र जीवनशैलीका बारेमा: “म मेरो जीवन आफ्नो आवश्यकताअनुसार बाँचिरहेको छु कि अरू मानिससँग तुलना गरेर?” यी प्रश्नहरू सामान्य देखिए पनि आधुनिक उपभोक्तावादी समाजमा निकै गहिरा प्रश्न हुन्।

निष्कर्ष

The Paradox of Choice को सबैभन्दा महत्वपूर्ण शिक्षा विकल्प हटाउनु होइन; विकल्पसँग स्वस्थ सम्बन्ध बनाउन सिक्नु हो। मानिसलाई स्वतन्त्र हुन विकल्प चाहिन्छ। तर अनन्त विकल्पले स्वतन्त्रतालाई निर्णयको बोझमा बदल्न सक्छ। त्यस्तै, उपभोग जीवनको आवश्यकता हो; तर उपभोगलाई नै खुशी, सफलता र पहिचानको आधार बनाउँदा मानिस कहिल्यै पर्याप्त भएको महसुस नगर्न सक्छ। सायद आधुनिक जीवनको एउटा ठूलो विरोधाभास यही हो—

हामीसँग पहिलेभन्दा धेरै वस्तु छन्, तर सन्तुष्टि कम हुन सक्छ। हामीसँग पहिलेभन्दा धेरै विकल्प छन्, तर निर्णय गर्न गाह्रो हुन सक्छ। हामीसँग पहिलेभन्दा धेरै सुविधा छन्, तर मन अझै “अझ केही” खोजिरहेको हुन सक्छ। त्यसैले सन्तुष्ट जीवनका लागि प्रश्न केवल **“मसँग कति विकल्प छन्?” भन्ने होइन। महत्वपूर्ण प्रश्न हो—“**कुन विकल्प मेरा लागि वास्तवमै आवश्यक छन्, र कुन विकल्पलाई मैले ‘होइन’ भन्न सक्ने क्षमता राख्छु?” सायद सुखी जीवनको रहस्य सबैभन्दा राम्रो विकल्प पाउनुमा होइन, सही विकल्प रोजेपछि त्यसमा सन्तुष्ट हुन सक्नुमा छ। अन्ततः Barry Schwartz को विचारलाई एउटा वाक्यमा भन्नुपर्दा— हामीलाई स्वतन्त्र बनाउन पर्याप्त विकल्प चाहिन्छ; तर स्वतन्त्र रहन ती विकल्पमध्ये केहीलाई अस्वीकार गर्ने बुद्धिमत्ता पनि चाहिन्छ।

चरैवेति।

    चरैवेति।।

          रानीवन,नागार्जुन २०८३।०४।३०, ९:३०


Share this post:

Previous Post
बादशाहको नँया पोसाक
Next Post
५ बाँदर र भर्याङ