स्याल एक दिन हात्तीको नजिक पुग्यो। विशालकाय हात्तीले त्यो सानो, तुच्छ जनावरलाई देखेर हाँस्यो। स्यालले न कहिल्यै हाँस्न जानेको थियो, न त हात्तीलाई हाँस्दै देखेको थियो। तर हात्तीको सुँड माथि उठेको देख्दा ऊ अलि डरायो। हात्तीले उसलाई कच्याककुचुक पार्ने पो हो कि भन्ने सोचेर स्यालले तुरुन्तै दुवै हात जोड्यो र हात्तीको वरिपरि घुम्न थाल्यो।
स्यालको यो आचरण देखेर हात्ती प्रसन्न भयो। “यो स्याल किन मेरो परिक्रमा गर्दैछ?” हात्ती सोच्न थाल्यो। त्यसपछि उसले आफैंलाई सम्झायो, “म त वनको राजा हुँ! यस्ता साना प्राणीहरूले मेरो सम्मान गर्नु नै पर्छ!” अहंकारले उसलाई भरिएको महसुस भयो। त्यसैले उसले गर्जँदै सोध्यो, “किन आएको?”
स्यालले निकै चतुर स्वरमा भन्यो, *“गजराज! तपाईं वनका राजा हुनुहुन्छ, तर म देखिरहेको छु, तपाईंलाई अझ राम्रो, शानसहितको स्थान चाहिन्छ। हिजो भेट भएदेखि नै म तपाईंका लागि उपयुक्त स्थान खोज्दै थिएँ, र आज फेला पारेको छु। त्यसैले तपाईंलाई बोलाउन आएको हुँ।”
हात्तीले खासै चासो नदिएको देखेर स्यालले अर्को तरिका सोच्यो। उसले आँखा नचाउँदै भन्यो, “गजराज! तपाईंलाई थाहा छ? तपाईंजस्तो शक्तिशाली जीवको चार वटा मात्र खुट्टा छन्, तर त्यो सानो माकुरोसँग आठ वटा! तपाईंका दुई मात्र आँखा छन्, तर माकुरोसँग आठ! अझ खतरनाक कुरा के छ भने, त्यही माकुरो तपाईंको योग्य स्थानमा जालो बुन्दैछ। मलाई त शंका छ, ऊ तपाईंलाई फसाउने षड्यन्त्र गर्दैछ!”
हात्ती चकित पर्यो। “के साँच्चै उसको आठ खुट्टा र आठ आँखा छन्? ऊ मलाई फसाउने सोच्दैछ?”
स्यालले टाउको हल्लाउँदै भन्यो, *“गजराज! म कहिल्यै झूट बोल्दिनँ। मैले उसलाई तहसनहस पार्न खोजेँ, तर सानो भएकाले सकिनँ। त्यसैले तपाईंलाई खबर गर्न आइपुगेँ।”
हात्तीको अहंकार झन् बढ्यो। “तँ सही भन्छस्! तँ अगाडि हिँड्, म अहिले नै गएर त्यो माकुरोको अन्त्य गर्छु!”
स्यालले अब अर्को योजना चाल्यो। “तर गजराज, तपाईंजस्तो महान प्राणीले सधैं सम्मानजनक ढंगले हिँड्नुपर्छ। तपाईंले अगाडिका दुई खुट्टा जोडिराख्नुपर्छ, म त यति छिटो हिँड्न सक्दिनँ, के गरूँ?”
हात्ती अलमलमा पर्यो। उसले सोच्यो, “यो स्याल त धेरै सानो छ, तर सम्मान गर्न जान्दछ।” त्यसैले उसले भन्यो, *“ठीक छ, तँ मेरो टाउकामाथि बस्। म तँलाई बोकेर लैजान्छु।”
स्याल खुशी हुँदै हात्तीको टाउकामाथि चढ्यो। अब ऊ झन् उत्साहित थियो। उसले अग्लो स्थानबाट आफ्नो साथीहरूलाई संकेत गर्न थाल्यो। “हाम्रो योजना सफल हुँदैछ!” स्यालहरू लुकेर हेरिरहेका थिए।
हात्ती वेगले माकुरोको जालो भएको ठाउँतिर दौडियो। उसले त्यो जालो चुँडाल्न खोज्दा माकुरो टाढा भागिसकेको थियो।
स्यालले फेरि चालाकी गर्यो। “गजराज, माकुरो भाग्दै छ, छिटो गर्नुहोस्! अगाडिका खुट्टा अलि पर सार्नुहोस्!”
हात्तीले बिना सोच विचार अगाडिका खुट्टा अघि बढायो। तर उसको खुट्टा चिप्लियो, सन्तुलन गुमायो र ठूलो खाल्डोमा खस्यो।
यसै अवसरको पर्खाइमा रहेका स्याल, ब्वाँसा र वनकुकुरहरूले हात्तीलाई चारैतिरबाट घेरिहाले। केहीले उसको सुँड चिथोरे, केहीले खुट्टामा टोक्न थाले। केही बेरमै हात्ती वनका तिनै साना प्राणीहरूको आहारा बन्यो।…
Krishna गाैतमकाे पुस्तक “अद्वैत” बाट शाभार ।
धन्यावाद ।
चरैवेती । चरैवेती ।।