Skip to content
My Perspective
Go back

दिलशोभा

Written by Keshav Rijal

प्यारो भाइ दिनेश,

के छ खबर खाबर ? घर तिर सबै आरामै त छ होला।तेता जाडो कत्तिको छ ? यहाँ त जाडोमा जाडो हुन्न गर्मीमा गर्मी हुन्न त्यहीभएर मेरो धेरै चिन्ता लिनुपर्दैन भन्दे बा आमालाई पनि।

झन्डै एक वर्ष भैसकेछ चिठी नलेखेको। खास भन्न पर्ने कुराहरु त केही पनि छैन। यसै आज शनिवार घाम ताप्दै जिन्दगीको कुरा गर्न मन लाग्यो अनि केही लेखम् भन्नी भयो अनि यो चिठी लेख्दै छु। फेरी दिदी धेरै जान्नी भैसकिछ नठान्। मलाई नि थाहा छैन सबै कुरा त त्यही नी भाइलाई एसो गफ लगाम भनेर नी !!

भदौ ताका शहर बजारमा ठूलो आन्दोलन भयो। धेरै कुराहरुको क्षति भयो। नसोचेको क्षति भयो ।पहिलो दिन सत्ताले गल्ती गर्यो दोस्रो दिन जत्थाले गल्ती गर्यो। दाजुभाई मारिए। देश मासियो।अब ति दाजुभाइ फर्किन्नन्। देशको आत्मसम्मान भासियो।आखाँ रसाए। मलाई धेरै राजनितिक कुरा त आउँदैन तर खै त्यत्रो आन्दोलनको उपलब्धि त खासै महसुस गरेको छैन भाइ मैले । विवेकलाई आवेगले जितेर त्यस्तो भएको हो की जस्तो नि लाग्छ मलाई त।

पुरानाको काम छैन भनेर आएका नयाँको नि छाँटकाट राम्रो देख्दिन।अरुलाई नराम्रो भनेर आफू राम्रो भइन्छ र ? अरुको कारणले आफू राम्रो हुने भन्दा नि आफ्नै कारणले आफू राम्रो हुने कुरा पो सहि हो जस्तो लाग्छ मलाइ चै। खाने बेलामा मिल्या छन्। काम गर्ने बेलामा के गर्छन् हेर्न बाँकी छ।

ह्या!! दिदीले के कुरा गरिरा होला जस्तो लाग्यो होला है। ल सुन् अर्को राम्रो कुरा भन्छु।मान्छे सधै गतिशील हुनुपर्दछ। गतिशील भनेको चलायमान हुनु हो। जहिल्यै एउटै स्थितिमा सीमित नभई परिवर्तन हुनु हो। यथास्थिति वादी (status quoist) नहुनु हो। दिदी फेरी सधै परिवर्तन हुने कुरा राम्रो हो र ? आज एउटा कुरा गर्ने भोलि अर्को कुरा गर्ने त के राम्रो हो र ? भन्लास् । ल सुन् कुरा..सबै कुरामा परिवर्तन हुनुपर्छ भन्न खोजेको होइन मैले। समय बद्लिन्छ समय सँगै सोच बद्लिन पर्छ।नराम्रा सोच। बदल्नु भन्नुको अर्थ नराम्रो तिर परिवर्तन हुनु भनेको होइन।राम्रो तिर हो। दिदी राम्रो नराम्रो त हरेक मान्छेको हेराइमा फरक पर्छ नि हैन र ? भन्लास् । कुरा एकदम ठिक हो। अरुको कुरा नगर। तँ आफ्नो कुरा गर् न।

अघिल्लो चिठ्ठीमा यसपालीको चिठ्ठीमा माया पिरतीको कुरा गरौँला भनेको थिँए। कुरा गर्न खास् मन त छैन। तै पनि बोलेको कुरा पुरा गर्नै पर्यो। मैले नि एकजाना साथी बनाएको छु …।

बाकीँ अर्को चिठ्ठमा।

तेरो प्यारी दिदी

दिलशोभा

तानसेन,पाल्पा


Share this post:

Previous Post
The Attention Economy
Next Post
सहानुभूतिहीनता र अपराध (Empathy Deficit And Crime)