Skip to content
My Perspective
Go back

Rape Trauma Syndrome

Written by Keshav Rijal Genre: Psychology

जबरजस्ती करणी र अन्य प्रकारका यौन अपराधमा पीडितको भावनात्मक, शारीरिक, र व्यवहारिक प्रतिकृया (reaction) RAPE TRAUMA SYNDROME (RTS) हो। यो एक प्रकारको Post Traumatic Stress Disorder (PTSD) हो।यो विषेशगरी इच्छा विपरीतका यौन सम्बन्धी कार्यहरुबाट उत्पन्न हुन्छ। यौनजन्य कसूर तथा अन्य अनईच्छित यौनजन्य कार्यहरु व्यक्तिको शरीर र आत्मसम्मान् माथि समेत आघात पार्ने कुराहरु हो।सोच्दै नसोचेको अनपेक्षित तरिकाबाट बालबालिका, महिला वा अन्य जो कोहीको शरीर र आत्मसम्मान् माथि आक्रमण हुँदा मानसिक विक्षिप्तताको अवस्थामा पुग्न सक्दछ।यस्तो अवस्थामा भनेकै RAPE TRAUMA SYNDROME को अवस्था हो।RAPE TRAUMA SYNDROME शब्द १९७४ मा नर्स अन्ना वोल्बर्ट बर्गेस र समाजशास्त्री लिन्डा लिटल होल्मस्ट्रोमले प्रयोगमा ल्याएका थिए ।

सबै पीडितले एकै प्रकारले TRAUMAका लक्षणहरु देखाउँछन् भन्ने हुँदैन।एकै प्रकारको कसूर/हिंसामा पनि दुई जना पीडितले फरक फरक लक्षणहरु देखाँउन सक्दछन्।यो व्यक्ति विषेश कुरा हो।कानूनले परीभाषा गरेको जबरजस्ती करणी र अन्य यौनजन्य कसूरमा मात्र नभएर कानूनले नचिनेका यौन सम्बन्धी इच्छा विपरीतका अन्य कार्यहरुको प्रतिकृया स्वरुप पनि RAPE TRAUMA SYNDROME (RTS)  देखिन्छ।

RTS अनुभव गर्दा पीडितको शारीरिक, मानसिक र मनोवैज्ञानिक स्वास्थ्यमा असर पर्छ। एकजना पीडितले महसुस गरेको कुरा अरूले अनुभव गरेको कुरासँग सम्बन्धित हुन पनि सक्छ वा नहुन पनि सक्छ। अर्को व्यक्तिले त्यसलाई बोध गर्न नि सक्छ नगर्न नि सक्छ।तर हरेक पीडितले महसुस गर्ने भावनाहरू वास्तविक हुन्। जुन व्यक्तिलाई जे भयो त्यो उसको लागि वास्तविक हो भलै अरुले त्यसलाई बुझुन् वा नबुझुन्।

RAPE TRAUMA SYNDROMEको चरणहरु र लक्षणहरुः-   A)   Acute Phase: यो चरण यौनहिंसा भएपश्चात तुरुन्त सुरु हुन्छ र सामान्यतया केही दिनदेखि केही हप्ता सम्म रहन्छ। यस चरणमा पीडितले विभिन्न प्रकारका प्रतिक्रिया देखाउन सक्छन्, जुन मुख्यतया तीनवटा श्रेणीमा वर्गीकृत गर्ने गरेको पाइन्छ:

१. प्रकट प्रतिक्रिया (Expressed Reaction): यो अवस्थामा पीडित खुलेर भावुक हुन्छ। उनीहरू उत्तेजित वा अत्यन्तै चिन्तित देखिन सक्छन्। पीडितहरु रुने, चिच्याउने गर्दछन्।पीडितलाई अत्यास लाग्ने पनि हुन सक्छ।

२. नियन्त्रणमा रहेको प्रतिक्रिया (Controlled Reaction): यस अवस्थामा पीडितले कुनै भावना देखाउँदैनन् र यस्तो व्यवहार गर्छन् जस्तो केही भएको छैन। “nothing happened” and “everything is fine.”। उनीहरू शान्त देखिए तापनि त्यो व्यवहार वास्तवमा मानसिक आघात वा ‘शक’ हुन सक्छ।

३. स्तब्धता र अविश्वास (Shocked Disbelief): यस अवस्थामा पीडितमा मानसिक भ्रमको तीव्र भावना देखिन्छ। उनीहरूले ध्यान केन्द्रित गर्न, निर्णय गर्न वा दैनिक कार्य गर्न गाह्रो महसुस गर्न सक्छन्। यौनजन्य हिंसाको विवरण राम्ररी सम्झन नसक्ने अवस्था पनि हुन सक्छ।

B) बाह्य समायोजन चरण (The Outward Adjustment Phase): यो चरणमा पीडित व्यक्ति बाहिरी रूपमा “सामान्य” जीवनतर्फ फर्किएको देखिन्छ, तर भित्रभित्रै उनीहरु ठूलो मानसिक संघर्ष भोगिरहेका हुन्छन्। यस चरणमा पाँचवटा प्रमुख सामना गर्ने तरिकाहरू (coping techniques) देखिन्छन्:

१. न्यूनिकरण (Minimization): “सबै ठिकै छ” वा “अझ नराम्रो हुन सक्थ्यो” भनेर चित्त बुझउने गर्ने।

२. नाटकीयता (Dramatization): आक्रमणबारे बारम्बार कुरा गर्ने र त्यो घटनाले नै जीवनलाई अत्याधिक रुपमा प्रभाव पार्ने।

३. दमन (Suppression): घटना भएको स्वीकार नगर्ने, त्यसबारे कुरै नगर्ने, केही भएको छैन भन्ने जस्तो व्यवहार गर्ने।

४. व्याख्या (Explanation): घटनाको विश्लेषण गर्ने— आफूले के गरेँ, बलात्कारीले के सोचिरहेको थियो वा के महसुस गरिरहेको थियो भन्ने कुरा बुझ्ने प्रयास गर्ने।

५. पलायन (Flight): पीडाबाट भाग्न खोज्ने— बसोबास परिवर्तन गर्ने, जागिर फेर्ने, आफ्नो रूपरंग वा सम्बन्धहरू परिवर्तन गर्ने आदि।   यस बाह्य समायोजन चरण (The Outward Adjustment Phase) चरणमा धेरै लक्षणहरू वा व्यवहारहरू देखिन्छन्, जसमा निम्न समावेश छन्:

·        निरन्तर चिन्ता

·        तीव्र मूड परिवर्तन

·        असहायताको अनुभूति

·        लगातार डर वा फोबिया

·        डिप्रेशन (मनोविक्षिप्तता)

·        अत्यधिक रिस वा आक्रोश

·        निद्रामा समस्या (डर लाग्ने सपना, अनिद्रा आदि)

·        खानपानमा समस्या (वाकवाकी, बान्ता, अत्यधिक खानपिन आदि)

·        इन्कार (घटना स्वीकार नगर्ने)

·        साथीसँगी, परिवार वा गतिविधिबाट अलग रहने प्रवृत्ति

·        अति संवेदनशीलता (Hypervigilance)

·        घर बाहिर जान वा आक्रमण सम्झाउने ठाउँहरूमा जान हिचकिचाउने

·        यौनसम्बन्धी समस्या

·        ध्यान केन्द्रित गर्न गाह्रो हुने

·        विगतका घटनाहरूको झल्को आउनु (Flashbacks)

C) समाधान चरण (The Resolution Phase): यो चरणमा यौनहिंसा वा यौनजन्य कसूर वा अन्य अनिच्छित यौनजन्य कार्याहरु अब पीडितको जीवनको मुख्य केन्द्रविन्दु रहँदैन। उनीहरू स्वीकार गर्छन् कि आक्रमणको स्मृति कहिल्यै मेटिँदैन, तर समयसँगै त्यसको पीडा र नकारात्मक प्रभावहरू घट्दै जान्छन्। धेरैजसो अवस्थामा पीडितले उक्त घटना आफ्नो जीवनको एक हिस्सा हो भनेर स्वीकार गर्न थाल्छन् र अगाडि बढ्ने निर्णय गर्छन्।

यी विभिन्न चरणहरु पार गरी यौनहिंसा वा यौनजन्य कसूर वा अन्य अनिच्छित यौनजन्य कार्यहरुबाट पीडित व्यक्तिले आफ्नो निको हुने प्रक्रियामा अगाडि पनि बढ्न सक्छन् र कहिलेकाहीँ पछाडि पनि फर्किन सक्छन्।यद्यपि यसमा विभिन्न चरणहरू छन्, तर ती चरणहरू सिधा रेखामा अगाडि बढ्ने खालका हुँदैनन्। पहिलोबाट दोस्रो र दोस्रो बाट तेस्रो चरणमा सरासर पुग्छ भनेर भन्न सकिँदैन। हरेक व्यक्तिको अनुभव फरक हुन्छ र उनीहरूको घटनालाई भुलेर अगाडी बढ्ने तरिका र यात्रा पनि भिन्न हुन्छ।

न्याय प्रशासन र RAPE TRAUMA SYNDROME (RTS)

यौनजन्य कसूरको अनुसन्धान, अभियोजन, सुनुवाई र फैसला कार्यान्वयन गर्ने सरोकारवालाहरुमा RAPE TRAUMA SYNDROME (RTS) को सचेत र सम-भावपुर्ण ज्ञान हुन अतिआवश्यक छ।यौनजन्य अपराधको अनुसन्धान गर्ने निकायले जाहेरी दरखास्त लिदाँ पीडितमा RTSका लक्षणहरु के-के छन् खुलाउन लगाउन सहयोग गर्न सक्छन्।यस्तै, पीडितको घटनाविवरण कागज वा घटनाको बारे सुनेको, देखेको, वा थाहा पाएका व्यक्तिहरुले गर्ने घटनाविवरण कागजमा समेत पीडितमा देखिएका RTSका लक्षणहरुबारे प्रश्न सोधी सो सम्बन्धी आवाश्यक तथ्यहरु उल्लेख गर्न सकिन्छ।

सरकारी वकीलले पीडित प्रभाव प्रतिवेदन तयार पार्दा, अन्तरिम क्षतिपुर्ति माग गर्दा, क्षतिपुर्ति माग गर्दा तथा अभियोग मागदावी लिँदा पीडितमा देखिएको RTSका लक्षणहरुलाई ध्यानमा राख्नु वाञ्छनीय हुने देखिन्छ। सरकारी साक्षीहरुको अदालतमा बकपत्र गराउँदा समेत RTS सम्बन्धी प्रश्न सोध्न सकिन्छ। RTS ले गर्दा पीडितहरु प्रतिकुल बकपत्र गर्ने र बकपत्र गर्दा घटनाबारे सबै कुरा खुलाउन असमर्थ हुने समेत भएकाले सो तर्फ सरकारी वकील, प्रतिवादीका वकील र इजलास विषेशरुपमा सचेत हुनुपर्ने देखिन्छ। अदालतले पीडितलाई अन्तिरम क्षतिपुर्ति दिलाउने, पीडक उपर कसूर ठहर गर्ने, पीडितलाई क्षतिपुर्ति भराउने समेतका कार्यहरुमा पीडितको RTSका लक्षणहरुलाई केन्द्रविन्दुमा राखेमा पीडित मैत्री न्याय प्रवाह हुने देखिन्छ।

यो लेखको उदेश्य RTS सम्बन्धी सामान्य जानकारी प्रदानगर्नु मात्र हो।

थप अध्ययनको लागिः

क)  Modi’s Medical Jurisprudence and Toxicology

ख)   WHO Guidelines for Medico-legal Care for Victims of Sexual Violence

ग)    The Diagnostic and Statistical Manual of Mental Disorders.     चरैवेती। चरैवेती।।

2082/02/10/3, 17:00, बारुदखान, तानसेन, पाल्पा


Share this post:

Next Post
निर्माया सरकार